बैसाख ३०, २०८३ मंगलबार

रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

प्रकृतिसँग मानिसको सम्बन्ध जति आत्मीय हुन्छ त्यति नै संवेदनशील पनि । प्रकृति रिसाएपछि त्यसको पीडा केवल भौतिक क्षतिमा मात्रै सीमित रहँदैन । यसबाट पारिवारिक विछोड, अप्राकृतिक मृत्युवरण र घट्न सक्छन् अकल्पनीय घटनाहरू । हाल भइरहेको रोशी खोलाको वेमौसमी वितण्डालाई प्राकृतिक मौसमी घटना मान्न सकिंदैन । विकासको नाममा लापरवाही, अव्यवस्थित प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको दुस्परिणामको पूर्व संकेत हो हाल रोशीमा मच्चिएको वितण्डा ।

रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

२०८३ वैशाख २१ गते साँझ करिब ६:१० बजे म, उपप्रमुख विसन राई, वडाअध्यक्ष दिनेश घिमिरे र निश्चल नेवासहित बाम्राङस्थित नारायण बस्नेतको घरतर्फ जाँदै थियौं। वडा कार्यालय पुग्दा नपुग्दै मुसलधारे वर्षा सुरु भयो। हिँड्न असजिलो भए पनि आत्मीय सॅास्कृतिक निम्तोलाई अस्वीकार गर्न सकेनौं। लामो समय दुबई बसेर फर्कनुभएका नारायण बस्नेत सामाजिक काममा सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँले हाम्रो उपस्थितिलाई आत्मीयताका साथ स्वागत गर्नुभयो।

आतिथ्यता सॅगसॅगै केही विकास निर्माण र सहकार्यको विषयमा छलफल गर्ने उद्देश्य थियो हाम्रो । तर निरन्तर मुसलधारे वर्षा भई रहेकोले त्यस्तो वातावरण मिलेन । हामीले नारायण बस्नेर र परिवारसँग सामान्य दुःख-सुख साटासाट गर्दै भोजन गर्यौं। अत्याधिक वर्षाले गर्दा औपचारिकता मात्रै पूरा गऱ्यौं र हामी सॅाझ ७.४५ बजे फर्कियौं।

त्यहॅाबाट विदा भएर त हिड्यौं तर बाम्राङका स-साना खोल्साहरूमा गड्गडाउँदै आएको भेलले रोशी खोलाको ताण्डव स्मरण गरायो । कसरी गाडी पार गराउने चिन्तित भयौं । तर निश्चल नेवाले सावधानी पूर्वक काम फत्ते गर्नुभयो । हामी सुरक्षित रूपमा खोला-खोल्सी पारगर्दै ८.१५ बजे दिक्तेल पुग्यौं। दिनभरको व्यस्तता र विद्युत समस्याका कारण मैले आज सामाजिक सञ्जाल हेरेको थिएन । बाटोमा फर्कंदै गर्दा उपप्रमुख विसन राईले रोशी खोलामा खोटाङका माननीय आरेन राई र प्रहरीबीचको नोकझोंक सामाजिक संजालमा भाइरल भएको सुनाउनुभयो । वडाध्यक्ष दिनेश घिमिरे र निश्चल नेवाले पनि उक्त कुराको पुष्टि गर्नुभयो।

त्यहि विश्लेषण गर्दै दिक्तेलको रत्नपार्कबाट हामी विडाभयौं सबैसॅग । मेरो मनमनमा प्रश्न उत्तर हुनथाल्यो । यदि घटना सत्य हो भने निर्वाचित भएको छोटो समयमै माननीय आरेन राईको यस्तो व्यवहार देखिनु दुःखद हो। जिम्मेवार पदमा बसेका व्यक्तिहरूको गतिविधि समाजको मूल्याङ्कनको विषय बन्छ। बोलाइ, हिँडाइ, खुवाई, प्रस्तुति र सामान्य व्यवहारले पनि समाजमा सकारात्मक- नकारात्मक सन्देश दिन्छ। मैले घर पुगेर सामाजिक संजालमा आएको भिडियो हेर्दा अत्याधिक अतिरञ्जित जस्तो पनि लागेन । जस्ताको तस्तै या कॅाटछॅाट सहितको भिडियो हो बुझ्न कठीनभयो । यो परिस्थिती किन र कसरी निम्तियो सम्वन्धित पक्ष नै जानकार हुनुहुन्छ । समग्रमा यो भिडियो बाहिर आउनु खोटॅागेको लागि लज्जावोधको विषय हो । सुरक्षा निकायले पनि माननीय वा नागरिकसॅग बोल्ने र गर्ने व्यवहार समाजमैत्री हुनुपर्छ । माननीयको मर्यादा र नागरिकको सम्मान गर्नु सुरक्षा निकायको कर्तव्य हो । यस घटनापछि मेरो मनमा एउटा गम्भीर प्रश्न उठाएको छ । हामी जनप्रतिनिधिले “ म को हुँ ? मेरो जिम्मेवारी के हो ? र मेरो व्यवहारले समाजमा कस्तो सन्देश दिन्छ ? “ भन्ने आत्ममूल्यांकन गर्नुपर्ने समय आएको छ ।

सामाजिक सञ्जालको युगमा सामान्य घटनाहरू पनि क्षणभरमै फैलिन्छन्। त्यहाँ सत्यसँगै विकृति पनि मिसिएको हुन्छ। माननीय आरेन राईको घटनामा पनि यही देखिएको छ। भिडियोमा देखिएको व्यवहार कडा देखिए पनि सन्दर्भ बुझ्नु आवश्यक हुन्छ। सार्वजनिक पदमा बसेका व्यक्तिले शब्द र व्यवहारमा संयम अपनाउनुपर्छ। आलोचना सहनु नेतृत्वको गुण हो भने सूचना सार्वजनिक गर्नेले पनि जिम्मेवारी बोध गर्नुपर्छ।

रोशी खोला विगत केही वर्षदेखि नै कोशी र मधेश प्रदेशका लागि टाउको दुखाइको विषय बनेको छ। स्थानीयवासीहरूले त यसको ताण्डव वर्षौंदेखि सहँदै आएका छन्। सामान्य अवस्थामा बहाव शान्त देखिए पनि यसको बहाव अत्यन्तै असामान्य हुन्छ। रोशी खोलाले कहिले सडक अवरुद्ध र कहिले बस्तीलाई धक्का दिएर जोखिममा पार्छ। त कहिले घर र विद्यालय भवन भत्काई दिन्छ । रोशीको ताण्डव र असहज गतिविधी केहि वर्षदेखि हामी सरोकावालाले मनन गर्दै आएका छौं ।
काठमाडौंबाट धुलिखेल-काभ्रेभञ्ज्याङ- पात्लेखेत हुँदै भकुण्डेवेसी पुग्दा मेरो मन गऱ्हॅुगो हुन्छ। २०८१ साल कार्तिक २६ गते त्यहीँको स्थानीय अस्पतालमा आमालाई गुमाएको पीडा अझै पनि मेरो मानसपटलमा घुमी रहन्छ । दिक्तेलबाट काठमाडौं लैजॅादै गर्दा आमालाई गाऱ्हो भएपछि भाइ पर्शु र मैले आकस्मिक सेवाका लागि भकुण्डेवेसीको नगर अस्पतालमा लगेका थियौं । आमालाई गुमाउॅदाको त्यो पीडा रोशीको भेलसँगै मनभित्र अहिले पनि उर्लिरहन्छ।

चौकीडाँडाबाट रोशी बगर हुँदै हिँड्दा देखिने दृश्य झनै पीडादायी हुन्छ। वर्षौंदेखि डोजरले पहाड काटिरहेको, क्रसर उद्योगहरूले खोलाको स्वरूप बिगारिरहेका हुन्छन् । खुलेआम जैविक विविधता नष्ट भएको देखिन्छ। न विज्ञको प्राविधिक अध्यन छ न मानवीय स्वास्थ्यको मापदण्ड मापन । तीनै तहका सरकारको संलग्नतामा प्रकृतिको दोहन भइरहेको प्रष्टै देखिन्छ। देशभरी प्राकृतिक सम्पदा माथि भई रहेको यस्तो दोहन नरोक्ने हो भने अवको केहि वर्षमा अकल्पनीय प्राकृतिक विपत्तको शिकार नेपालीले हुनुपर्छ । त्यसैले विगतका कमजोरीलाई सरकारले मनन गर्दै अव कडाईका साथ यस्ता संदिग्ध गतिविधी रोकिनु पर्छ । वैज्ञानिक विज्ञहरूको सल्लाह र मापदण्ड अनुसारको विकासको गति अघि बढाउनु नै भविष्यको लागि वुद्धिमता ठहरिन्छ ।
गाडिबाट ओहोरदोहोर गर्दा सडक किनारामा रहेका सिसौ, खयर, सखुवा , चिलाउने, उत्तिस , वर, पिपल, पात्ले, अॅाप, लिची, अम्वक, कटहर जस्ता रुखहरू मौन साक्षीझैं उभिएका देखिन्छन् । तर पक्कै पनि तिनीहरूको मौनतामा पीडा र गुनासो लुकेको हुनुपर्छ । मेरो मनमा त्यस्ता कुराहरू खेलि रहन्छन् । त्यहॅाको वातावरण र सडक यात्राको विषय सम्झदा ।  माम्तिखोला हुँदै नेपालाथोक  पुग्दा रोशी खोला कोशिको विलिन भएपछी मात्रै यसको अस्तित्व समाप्त भएको अनुभुति  गराउँछ ।

नेपालथोकको थाप्लोमा अवस्थित दुम्जा गाउॅ नेपालको राजनीतिक इतिहास बोकेको स्थल हो। दुम्जा कृष्णप्रसाद कोइरालाको जन्म र कर्मभूमि हो । दुम्जाको भूमिमा जन्मिएका वीपी कोइरालाले नेपालमा लोकतन्त्रको बीउ रोप्नुभएको थियो। लमतन्न फैलिएका खेत, हरियाली वातावरण र शान्त गाउँले दुम्जालाई लोकतान्त्रिक इतिहासको पानामा सुरक्षित बनाएको छ। यस्तो ऐतिहासिक स्थललाई संग्रहालयका रूपमा विकास गर्न नसक्नु दुःखद् पक्ष हो। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।
अहिले चैत-वैशाखमा हुने बाढी सामान्यजस्तै बन्दै गएको छ। त्यस क्षेत्रमा घाम लागिरहॅदा पनि सिन्धुपाल्चोक वा काभ्रेको टुप्पोमा पानी पऱ्योभने रोशी खोलामा आकस्मिक बाढी आउॅछ ।

यो प्राकृतिक घटना होइन विकासको असन्तुलित मोडेलको परिणाम हो। अवैध उत्खनन, मापदण्ड विपरीत क्रसर सञ्चालन र आर्थिक चलखेलले खोलाको अस्तित्व विलिन बनाएको छ। खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्न खोजियोभने यसले आफैं नयाँ बाटो खोज्छ । त्यस क्रममा बस्ती, खेत , सडकको क्षति र अन्य वितण्डाको दूरगामी मार मानिसले खेप्नुपर्छ ।

रोशीको बाढीका कारण हजारौं नागरिक प्रभावित भएका छन्। बीपी राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स सेवा ठप्प हुन्छ । सडक अवरूद्ध हॅुदा हजारौं बिरामी, जेष्ठ नागरिक र बालबालिका लगायत यात्रुहरूलाई असर गर्छ। यस्तो अवस्थामा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ। तत्काल वैकल्पिक सडक निर्माण र दीर्घकालीन समाधान खोज्नु अपरिहार्य देखिन्छ।

अन्ततः रोशी खोलाको ताण्डव केवल प्राकृतिक विपत्ति होइन, यो हाम्रो विकास मोडेलको परीक्षा हो। जलवायु परिवर्तनको असरलाई नकार्न सकिँदैन । त्यससँग जुध्ने तयारी गर्न सकिन्छ। प्राकृतिक स्रोतको संरक्षण, मापदण्डअनुसारको विकास र पूर्वाधार सुधार विकासमा आमूल परिवर्तन आजको आवश्यकता हो। प्रकृतिसँग सहअस्तित्व कायम राख्दै अघि बढ्न सकेनौं भने आजको रोशीको ताण्डव झैं अन्यत्र पनि अनेकौं दुस्परिणामहरू निक्लिन थाल्छन् । यस्तै प्राकृतिक विपत्ति नै भोलिको राष्ट्रिय संकट बन्न सक्छ । सबै पक्षले समयमा नै ध्यान पुऱ्याउॅ ।

( स्तम्भकार-दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन् )

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

  २०८३ बैसाख २८, आइतबार
रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

  २०८३ बैसाख २५, बिहिबार

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार

सम्बन्धित खबर