जेठ २०, २०८३ मंगलबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट भएको छ ।
खोटाङको साकेला गाउँपालिका–१ बाजेच्यानडाँडा, झगरपुर टोलमा लुटपाट भएको छ। उदयपुर घर बताउने काठ ओसार–पसारको काम गर्ने दुई जना पुरुषले झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उनकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट गरेका हुन्।
पुस ६ गते साँझ करिब ७ बजे बास माग्दै पुगेका करिब ३० र ३५ वर्षका ती दुई पुरुषले विभिन्न बहाना बनाउँदै आफू धामी–झाँक्रीको काम गर्ने भन्दै राति ९ बजेसम्म घरमै बसेका थिए। त्यसपछि बुढाथोकी दम्पतीको हात–खुट्टा र मुख बाँधेर उनीहरूको घरबाट नगद, सुन र मोबाइल फोन लुटेर फरार भएका हुन्।
पीडितका ज्वाइँ लीलाबहादुर खत्रीका अनुसार लुटेराले १ तोला सुनको कुण्डल, १ लाख ५० हजार ६ सय रुपैयाँ नगद र १ थान मोबाइल फोन लुटेका छन्। लुटपाटका क्रममा खुकुरी र पेस्तोल देखाएर धम्क्याइएको पीडितको भनाइ छ।
पीडित चन्द्रकुमारी बुढाथोकीले लुटेरा फरार भएपछि राति करिब १२ बजे हातमा बाँधिएको सल दाँतले खोलेर आफू जोगिएको र श्रीमानको हातमा बाँधिएको तार खोलेपछि मात्र दुवैको ज्यान जोगिएको बताउनुभयो।
लुटपाट हुनुभन्दा केही दिनअघि पुस २ गते पनि अपरिचित तीन जना व्यक्तिहरू बास माग्दै सोही घरमा बसेको खुलेको छ। अशक्त र बिरामी अवस्थामा रहेका बुढाथोकी दम्पती घरमा एक्लै रहेको मौका छोपी लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटना भएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर