असोज ८, २०८३ बुधबार

विश्व बाँस दिवस र कुँडिएको मन

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

@ तीर्थराज भट्टराई // खोटाङलाई बाँसको राजधानी भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ । तर खोटाङका गाउँबस्ती डुल्ने हो भने बाँस नभएको ठाउँ भेट्टाउन मुस्किल हुन्छ । घरको डिल, कान्ला, खोलाखोल्सीको छेउ, वनपाखा र बस्ती वरिपरि जताततै छन् बाँसका झ्याङ । खोटाङे जीवनमा बाँस वनस्पति मात्रै कहाँ हो र ! यो त जीवनको एउटा अभिन्न साथी हो । जन्मदेखि विवाह, मृत्युवरण हुँदै हरेक संस्कृति र संस्कारसम्म बाँसको आफ्नै भूमिका छ । घर बनाउँदा, खेतीपाती गर्दा, डोको-डालो बुन्दा बाँस चाहिन्छ । त्यसैले बाँसविनाको पहाडी जीवन कल्पना गर्न सकिंदैन ।

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

बाँसको सबैभन्दा ठूलो विशेषता भनेको यसको उत्पादन र फैलावटका लागि धेरै मलजल र लगानी आवश्यक पर्दैन । आफैँ उम्रिएर फैलिन्छ र आवश्यक पर्दा हामी काटेर प्रयोग गर्छौ । लगानी र जताततै पाइने भएको हुँदा हामीले बाँसको महत्त्व बुझ्ने कोसिस नै गरेनौँ । घरआँगनमा सजिलै पाइने वस्तुको मूल्य नबुझ्ने नेपालीको पुरानै चरित्र पनि हो । त्यही नियतिको सिकार भयो बाँस पनि ।

खोटाङमा विभिन्न प्रकारका बाँस पाइन्छन् । त्यसमा पनि मलिबाँस त गाउँघरको सबैभन्दा नजिकको साथी नै हो । डोको, डालो, नाङ्लो, भकारी, थुन्से, टाटी, बार, भर्‍याङदेखि घर निर्माण, विवाहको मण्डप र अन्तिम संस्कारसम्म पुस्तौँदेखि प्रयोग हुँदै आएको छ मली बाँस । हाम्रा बाजेबज्यै र आमाबुबाले बाँसबाट घरेलु तथा व्यवहारिक सामग्री बनाएर जीवन निर्वाह गरेका थिए । तर विडम्बना हामीले त्यसको ज्ञान, सीप र सम्भावनालाई व्यवस्थित रूपमा अगाडि बढाउन सकेनौँ । आयातित र अप्राकृतिक सामग्री प्रयोगको जञ्जालमा नराम्रोसँग फस्यौँ । प्रकृतिले दिएको हरियो सुन हाम्रो आँखाअगाडि छ,र तर हरियो सुन चिन्न नसकेर भौँतारिइरहेका छौँ हामी । राज्यले नागरिकको बुझाईमा एक रूपतामा ल्याउन नसक्नु मुख्य कमजोरी हो । सरकारी नीति र हरित अर्थतन्त्रप्रतिको कमजोर प्राथमिकता पनि जिम्मेवार छ यसमा ।

२०८३ असोज २ गते अर्थात् सेप्टेम्बर १८ मा विश्व बाँस दिवस दिक्तेलमा मनाइयो । संसारका धेरै मुलुकमा बाँसलाई अर्थतन्त्र, रोजगारी, प्रविधि, वातावरण र भविष्यसँग जोडेर हेर्ने गरिएको छ । हामीकहाँ भने अझै पनि बाँस भनेको गाउँमा आफैँ उम्रिने सामान्य वनस्पति हो भन्ने बुझाइ छ । दिवस मनाउनुको अर्थ भीड जम्मा गर्ने र भाषण गर्नु तथा फोटो खिच्नु मात्र होइन । आफू वरिपरि रहेको सम्भावनालाई चिन्ने, बुझ्ने, महसुस गर्ने र त्यसलाई व्यवहारमा उतार्ने संकल्प गर्नु पनि हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा राष्ट्रिय बाँस सम्मेलन गरेपछि बाँसबारे राष्ट्रिय बहस सुरु भएको महसुस गरेको छु मैले । वर्षौंदेखि बाँसको क्षेत्रमा काम गरिरहेका विज्ञ, व्यवसायी र अभियन्ताका अनुभव र धारणा एउटै ठाउँमा सुन्ने अवसर बन्यो त्यो सम्मेलनमा । अहिले बाँसको विषयले विस्तारै राष्ट्रिय ठाउँ पाउन थालेको छ । तर संघ, प्रदेश र स्थानीय सरकारका प्राथमिकतामा बाँस अझै नीतिगत रूपमा परेको छैन । उत्पादन, व्यवस्थापन, अनुसन्धान, प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट नीति र संरचना बनाउन आवश्यक छ । सरकारले नीति तथा कार्यक्रम बनाउँदा बाँसलाई दरिलो हरित अर्थतन्त्रको स्रोत बनाउने व्यवस्था गर्नु अपरिहार्य छ । त्यसका लागि हामीले निरन्तर आग्रह र दबाब बढाउन जरुरी छ ।

म नगर प्रमुख भएपछि बाँसको प्रयोग र व्यवसायलाई जति अगाडि बढाउन चाहन्थेँ । त्यति गर्न सकिनँ । यो मेरो आफ्नै कमजोरी र स्वीकारोक्ति पनि हो । तर बाँस अब मेरो व्यक्तिगत वा नगरपालिकाको मात्रै मुद्दा रहेन । बाँस राष्ट्रिय मुद्दा र बहसको विषय बनेको छ । सरकारलाई नीति बनाउन, विज्ञलाई अनुसन्धान र नागरिकलाई आफ्नो नजिकको स्रोत खोज्न प्रेरित गर्ने बहस सुरु भएको छ । मेरो र नगरपालिकाको लागि यही नै ठूलो उपलब्धि हो । राष्ट्रिय बाँस विकास र बहसमा खोटाङबिना गरिने चर्चा अपूर्ण हुने वातावरण बनेको छ । हो यही नै नगरपालिका र खोटाङवासीको जित ।

यो वर्ष खोटाङमा पहिलोपटक विश्व बाँस दिवस मनाउने अवसर जुट्यो । डिभिजन वन कार्यालय खोटाङका कार्यालय प्रमुख राजन राईसँगको कुराकानीमा बाँसलाई देशको हरियो सुनका रूपमा लिनुपर्ने कुरा उहाँले खुलेर राख्नुभयो । कार्यालय परिसरमा सीमित संख्यामा भएको त्यो कार्यक्रम आकारमा सानो थियो तर अर्थपूर्ण । किनकि त्यहाँ भीडभन्दा भावना, लक्ष्य र सम्भावनाको खोजी गरिरहेका थियौँ हामी ।

डिभिजन वन कार्यालय खोटाङका कार्यालय प्रमुख राजन राईको युवा सोच, सिर्जनशीलता र केही गर्नुपर्छ भन्ने भावले बाँसबारे आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम बनाउन प्रेरणा दिने विश्वास छ मेरो । एउटा दिवसमा कार्यक्रम गरेर विषय सकिँदैन । वन कार्यालय, स्थानीय तह, वन उपभोक्ता, विज्ञ, उद्यमी र समुदाय मिलेर बाँसको पहिचान, संरक्षण, उत्पादन, उपयोग र उद्यमका विषयमा निरन्तर काम गर्ने हो भने आजको सानो सुरुवात भोलि ठूलो अभियान बन्न सक्छ । राजन राईजस्ता कार्यालय प्रमुखको उत्साह त्यही यात्राको महत्वपूर्ण ऊर्जा बन्न सक्छ । विशेष धन्यवादको पात्र हुनुहुन्छ कार्यालय प्रमुख राजन राई र डिभिजन वन कार्यालय खोटाङ ।

फेकोफनका केन्द्रीय सदस्य समर भुजेलको उपस्थिति पनि त्यत्तिकै अर्थपूर्ण थियो । वन र वातावरणको क्षेत्रमा लामो समयदेखि आफ्नो तर्फबाट योगदान गर्दै आउनुभएका समर सरल जीवन, प्रकृतिप्रतिको प्रेम र स्थानीय स्रोतको संरक्षणमा विश्वास राख्ने व्यक्ति हुनुहुन्छ । उहाँसँगै वन उपभोक्ताका स्थानीय अगुवा सन्तोष घिमिरेको सहभागिताले कार्यक्रमलाई जमिनसँग जोड्यो । अनुभवी अभियन्ता र स्थानीय वन उपभोक्ताको उपस्थितिले कार्यक्रमको सामाजिक अर्थ अझ बढाएको महसुस भयो ।

नेपाली मानसिकतामा कार्यक्रम सफल पार्न सयौँ मानिस चाहिन्छ भन्ने सोच छ । लामो आसनग्रहण, धेरै भाषण र ठूलो भीड नभए कार्यक्रम असफल भएजस्तो गरिन्छ । तर पाँच जना मानिस बसेर गम्भीरतापूर्वक एउटा नयाँ सोच निकाल्छन् भने त्यो पनि ठूलो कार्यक्रम हो । सयौँ मानिस जम्मा भएर दृष्टिकोण निर्माण नगर्नुभन्दा केही मानिस बसेर स्रोत, सीप र सम्भावनाबारे घोत्लिनु अर्थपूर्ण हुन्छ ।

बाँसबारे बोलिरहँदा कतिपयले मलाई पागल मेयर पनि भने र भनिरहेका छन् । सामाजिक सञ्जालमा खुइल्याउने प्रयास पनि निरन्तर भइरहेको छ । लोकतन्त्रमा आलोचना गर्न पाइन्छ र जनप्रतिनिधिले आलोचना सुन्नैपर्छ । सभ्य आलोचनालाई म सम्मान गर्छु । तर तथ्य र तर्कबिनाको गालीले समाज बनाउँदैन । सामाजिक सञ्जालको स्वतन्त्रता अरूलाई होच्याउने लाइसेन्स बन्नु हुँदैन भन्ने मेरो मत छ ।

मैले बाँसको विषय सनकको भरमा उठाएको होइन । यो मेरो गाउँले आँखाले देखेको सम्भावना हो । बाल्यकालदेखि नै चिनेको सम्पदा हो । किसानको बारीमा निःशुल्क उम्रिएको प्राकृतिक स्रोत हो । गरिबको साथी भनेर मात्र सीमित गरिने भाष्यविरुद्धको आवाज हो । संस्कारमा आवश्यक पर्ने वातावरण जोगाउने वनस्पति हो । उचित नीति, प्रविधि र बजार पायो भने गाउँको अर्थतन्त्र बदल्न सक्ने वनस्पति हो बाँस ।

अब बाँसलाई त्यत्तिकै उम्रिने झाडी भनेर हेर्ने सोचमा पूर्णविराम लाग्नुपर्छ । बाँसको पहिचान, अभिलेख, संरक्षण, खेती, प्रशोधन, प्रविधि, उत्पादन, बजार र उद्यमलाई कुटिर उद्योगका रूपमा विकास गर्न जरुरी छ । स्थानीय सीपलाई आधुनिक प्रविधिसँग जोड्दै सरकारको नीति, विज्ञको अनुसन्धान, निजी क्षेत्रको लगानी र युवाको श्रम जोडिनुपर्छ ।

कुँडिएको मन लिएर पनि म बाँसबारे बोलिरहन्छु । बाँसको विषय उठाउँदा पागल भनेछन् भने पनि त्यो पागलपन छोड्ने छैन । किनकि मैले किसान, प्रकृति र संस्कृतिको विषय उठाएको हो । हरित अर्थतन्त्रको दिगो विकास गर्ने राष्ट्रिय नीतिको माग हो मेरो । यो मेरो व्यक्तिगत, पारिवारिक वा पार्टीको मुद्दा हुँदै होइन । अनि किन पागलको उपमा भिर्नबाट डराऊँ म ? प्रकृतिले निःशुल्क दिएको वनस्पतिले ठूलो सम्भावना बोकेको छ भन्ने जनजागरण पनि त हो यो पागलपन ।

राजन राई, समर भुजेल, सन्तोष घिमिरे र विश्व बाँस दिवसको सानो जमघटमा सहभागी सबैप्रति सम्मान छ । यो कार्यक्रमले निरन्तरता पाउनुपर्छ । आगामी वर्ष अझ अर्थपूर्ण कार्यक्रम र योजना बनाउने प्रेरणा दिएको छ सबैलाई । बाँसबारे अनुसन्धान,उद्यम , युवाले रोजगारी र गाउँलेले आफ्नो आँगनमै रहेको स्रोतको मूल्य धेरै पाउन सकून् – यही नै कामना छ मेरो ।

हामीले वर्षौँसम्म बाँस काट्यौँ तर यसबाट जीविकोपार्जन र सम्भावना खोज्न सकेनौं । त्यसैले बाँसको झ्याङ घटाउनेभन्दा त्यसको मूल्य बढाउने नीति बन्ने अभियान हो यो । हरियो सुनको महत्त्व चिन्न सके दिगो विकासको आधार बलियो बन्ने र हरित अर्थतन्त्र दरिलो हुनेमा दुईमत छैन । यही अभियानमा लाग्ने उत्प्रेरणा र गर्विलो विश्वास छोडेर बिदा भएको छ यस वर्षको विश्व बाँस दिवस । सबै प्रकृति , संस्कृति र वातावरणप्रेमीहरूलाई हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर