जेठ १७, २०८३ शनिबार

धूम्रपानमुक्त समाज

धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज
– तीर्थराज भट्टराई

हरेक वर्ष मे ३१ तारिखका दिन ( जेठ १७ गते ) विश्वभर “विश्व धूम्रपानरहित दिवस” मनाइन्छ । विश्व स्वास्थ्य संगठनले सन् १९८७ देखि यो दिवस मनाउन सुरु भएको हो । धूम्रपानले मानव स्वास्थ्य, परिवार, समाज र वातावरणमा गम्भीर असर पार्ने भएकाले यसको विरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटु, घाँटी तथा श्वासप्रश्वास सम्बन्धी विभिन्न रोग निम्त्याउँछ । तर विडम्बना, चेतनाको कमी, गलत संगत र परम्परागत संस्कारका कारण गाउँदेखि सहरसम्म यसको कुलत द्रुत गतिमा फैलिरहेको तथ्यांक देखिन्छ ।

धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानको पीडा मैले आफ्नै परिवारमा नजिकबाट देखेको छु। मेरो पिताजी लक्ष्मीप्रसाद भट्टराईको जीवन त्यसको एउटा ज्वलन्त उदाहरण हो। उहाँको गोठाले वाल्यकालको जीवन, तत्कालिन समाजको परिवेश र नियमित धूम्रपानले परिवारमा पारेको दुस्प्रभाव आज पनि सम्झँदा मेरो मन उकुसमुकुस भएर आउँछ ।

गोठाले जीवन र त्यसले पारेको प्रभाव

पिताजीले बाल्यकालमा चिउरीडाँडाको माथिल्लो भू-भाग दुधिले, चप्लेटी लगायतका ठाउॅमा गोठ बस्दा धूम्रपान गर्न सिक्नुभएको थियो। त्यो समयमा अहिलेको जस्तो यातायात तथा संचारको सुविधा थिएन । लेकमा ५०-६० माउ भैंसी, राँगा, गाई, गोरु, बाख्रा र भेडा पाल्नु भएको रहेछ । बेसिका मानिसहरू गोठालोको रूपमा हिउँदको महिनामा जंगल र लेकमा महिनौँ बिताउँथे । चिसो मौसम, कठिन जीवन र साथीहरूको संगतले मेरो पिताजीले सुर्ती र बिँडी सेवन गर्न सिक्नुभएको रहेछ ।

दोर्पाका पद्मबहादुर चौहान “नास्तुमे काका” अहिले ९७ वर्षको उमेरमा पनि ठमठमी हिँड्नुहुन्छ। उहाँले मेरा पिताजीसँग बिताएका पुराना दुःख, संघर्ष र पशुपालन गर्न जंगलमा विताउॅदाका कथा भेटको समयमा सुनाउनुहुन्छ । विगतमा भालुसँग जम्काभेट भएको घटना, जंगलको कठोर जीवन र पढ्न नपाएको पीडा सम्झँदै उहाँले आँखाबाट आँसु झार्नुहुव्छ । त्यो समयको जीवन कठिन भए पनि आत्मीयता, श्रम र प्रकृतिसँगको सामिप्यता लोभलाग्दो थियो । सद्भाव, सहिष्णुता र अगाध प्रेम साटासाट हुन्थ्यो रे । आहा ! त्यो समयको निष्कपट र सौहार्गपूर्ण जीवन । त्यो सद्भाव र सौहार्दता हराई रहेको छ दिनहॅु ।

त्यतिबेला “एक सुकामा एक मानो घिउ” पाइने समय थियो । पैसा कम भए पनि अन्न, दूध, घिउ र परिश्रमले खारिएको आनन्दमय जीवन । दुःख र अभावका बीच पनि मानिसहरू आत्मनिर्भर थिए । परदेश जाने विरलै थिए मानिसहरू । तर त्यही जमाना र परिवेशमा सुर्ती सेवनले भने गहिरोसँग जरा गाडेको पाईन्छ

धुम्रपानको लतले ल्याएको पीडा

गोठाले जीवनमा सुरु भएको धूम्रपानको बानी मेरो पिताजीले जीवनभर छोड्न सक्नुभएन । उहाँ भोर्ला र सालको पातमा सुर्ती बेरेर खानुहुन्थ्यो । हामीले “नखानुहोस्” भनेर सम्झाउँदा रिसाउनुहुन्थ्यो । त्यतिबेला अभिभावकलाई सिधै सम्झाउने संस्कार र हिम्मत पनि हुदैनथ्यो ।

धूम्रपानको असर विस्तारै उहाँको स्वास्थ्यमा देखिन थाल्यो । उहॅालाई गहिरो खोकी, दम र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गयो । अन्ततः २०६० साल माघ ९ गते ७३ वर्षको उमेरमा दमकै कारण उहाँको निधन भयो । त्यो क्षण परिवारका लागि अत्यन्तै पीडादायी थियो । परिवारको अविभावक गुम्दा रानो विनाको मौरी झैं भयौं हामी ।

दोर्पामा तल्लाघरका ज्योतिखर आचार्य र षडानन्द आचार्य ( डॅाडाली ) पनि पिताजीका साथी हुनुहुन्थ्यो । उहाँहरू दुबै दाजुभाइको दमकै कारण निधन भएको ऱ्थियो । मेरा जेठा दाजु गुणराजले पनि पिताजीको देखासेखी र गाउॅले संगतकै कारण सुर्ती र खैनी सेवन गर्न सिक्नुभयो । उकालो हिँड्दा स्वाँ-स्वाँ गर्दै सास बढ्ने, लगातार खोकी लाग्ने समस्या थियो । अन्ततः २०६७ सालमा उहॅाको अकालमै उहाँको पनि मृत्यु भयो । यसको मूख्य कारण भनेको धुम्रपान सेवन नै थियो ।

धूम्रपानले केवल सेवन गर्ने व्यक्तिलाई मात्र होइन वरपरका मानिस र समाजलाई समेत असर गर्छ । घरभित्रको धुवाँले बालबालिका, महिला र वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ । यहि धुम्रपानको दूषित धुवॅा र प्रदूषणले नै मानव स्वास्थ्य र वातावरणलाई गम्भीर असर पुऱ्याएको छ ।

परिवार र समाजमा गम्भीर असर

२०३८ सालको एउटा पारिवारिक घटना मेरो मनमा अझै ताजा नै छ । मेरी आमा पद्मकुमारी भट्टराईलाई पिताजीले घर पछाडिको करेलोको झाँग नजिक निर्मम ढंगले पिट्नुभएको थियो । म त्यतिबेला केवल ९ वर्षको बालक थिएँ । त्यो दृश्यले मेरो बाल मष्तिष्कमा गहिरो चोट पुर्‍यायो । पिताजी स्वयं धूम्रपान गर्ने तर आमाप्रतिको व्यवहार र त्यो प्रवृत्तिले पितृसत्तात्मक समाजको कठोर सोचलाई उजागर गरिरहेको थियो । सायद पिताजीले घरमा नियमित धुम्रपान गर्ने स्वभावबाट प्रभावित भएर लुकीलुकी सुर्ती सेवन गर्न सिक्नुभएको थियो । पुरुषले भने सुर्ती वा मादक पदार्थ सेवन खुलेआम गर्न मिल्ने तर महिलामाथि हिंसा गर्नु कुनै पनि दृष्टिले मानवीयता थिएन । यस्तो अवस्थामा पनि कसैले अन्यायका विरूद्ध बोल्न सक्दैनथ्यो । शिक्षा र मानवीय चेतनाको स्तर नउक्सिएकोले होला घुम्रपान सेवनबाट हुने असरका विषयमा जनचेतना फैलाउने काम पनि हॅुदैनथ्यो ।

तर अहिले समय फेरिएको छ । गाउँमा सडक, मोबाइल, इन्टरनेट र आधुनिक सुविधा पुगेका छन्। । विद्यालय भवन र शिक्षालय खुलेका छन् । पैसा कमाउनेको संख्या पनि बढेको छ। तुलनात्मक रूपमा त्यो समयमा भन्दा अहिले चौतर्फी विकास भएको छ । तर मलाई भने चरित्र, संस्कार र अनुशासन कमजोर बन्दै गएको हो कि भान हुन्छ । यसो देख्छु विद्यालय र कलेजका विद्यार्थीहरू चिया पसल र रेष्टुरेन्टमा धूम्रपान गरिरहेको र गाउॅघरमा खोला खोल्सी र डॅाडापाखामा युवायुवतिले धुम्रपान गरिरहेको देख्दा मन भतभती पोल्छ । शिक्षादिक्षा दिने गुरु , जन्म दिने आमा र कर्म दिने वुवा प्रति सम्मान गर्ने नेपाली संस्कृतिमा कतै ह्रास आएको पो हो कि ? मनमा कुरा खेलाउॅदै आत्मअनुशासनमा कमी भएको जस्तो अनुभूति हुनेगर्छ ।

आधुनिक समय र हाम्रो जिम्मेवारी

स्वास्थ्य मन्त्रालय र विभिन्न निकायले धूम्रपानविरुद्ध चेतना फैलाइरहेका छन् । विद्यालय शिक्षा , सञ्चारमाध्यम र सामाजिक संस्थाहरूले पनि अभियानलाई तीव्र बनाइरहेका छन् । तर मानवीय व्यवहारमा भने अपेक्षित परिवर्तन देखिएको छैन ।

आजको आधुनिक समाजमा सुविधा बढे पनि तनाव, बनावटी जीवनशैली र गलत संगतले युवालाई कुलततर्फ डोर्‍याइरहेको छ । सुर्ती, चुरोट, खैनी तथा विभिन्न नशाजन्य पदार्थलाई “फेशन” का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । यो नेपाली समाजका लागि अत्यन्तै चिन्ताजनक अवस्था हो ।

निष्कर्ष

आजको यो विश्व धूम्रपानरहित दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन आत्मचिन्तन गर्ने अवसर पनि हो । धूम्रपानले कसरी एउटा परिवार, स्वास्थ्य र समाजलाई असर गर्छ भन्ने उदाहरण मैले आफ्नै परिवारमा देखेको र भोगेको छु । मेरो पिताजीले दमका कारण भोग्नुभएको पीडा सम्झँदा आज पनि मनको धड्कन बढ्छ । हाम्रो परिवारले तल यस्को पीडा भोग्यो तर अरू कसैले यस्तो भोग्न नपरोस् भन्ने मेरो चाहना छ ।

यदि हामीले आजको यो अन्तराट्रिय ध्रुम्रपान रहित दिवसको अवसरमा आफ्ना कुलत र कमजोरीलाई त्याग्ने संकल्प गर्न सक्यौँ भने जीवनको लागि ठूलो उपलब्धि हुनेछ । आफू पनि बच्ने र अरूलाई पनि बचाउने जिम्मेवारी प्रत्येक सचेत नागरिकको हो । स्वस्थ, सभ्य र धूम्रपानमुक्त समाज निर्माणका लागि सबै नागरिक अग्रसर बनौँ । विश्व धूम्रपानरहित दिवसको यहि यही सन्देश हो । विश्व धूम्रपानरहित दिवसको सबैमा हार्दिक शुभकामना ।
( स्तम्भकार- दिक्तेल रूपाकोट मझुवागढी नगर पालिकाका नगर प्रमुख हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर