चैत्र २८, २०८२ शुक्रबार

पत्रकारिता छोडेर राजनीतिमा रवि लामिछाने

पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका छन्।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने बताए।

पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा रहने उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरिएको छ।

रविको घोषणा सभामा उनका समर्थको ठूलो उपस्थिति थियो।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।

तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ। संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ।

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।

‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’

सभागृहको घोषणा सभापछि उनले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका छन्।

दल दर्ताको निवेदन आयोगमा बुझाएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले पार्टी सभापति आफू भएको बताए।

‘यो दलको सभापति म छु,’ उनले भने, ‘हाम्रो टिमले मलाई सभापति चुनेको छ। हामी २१ जना छौं।’

उनले दल दर्ताका लागि निवेदन दिँदा अरू क(कसको नाम समावेश गरेका छन् भन्नेबारे खुलाउन चाहेनन्। आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने उनले बताए।

‘देशले चिनेको नहुन सक्छ, देशलाई चिनेको व्यक्तिहरू हुनुहुन्छ,’ उनले भने, ‘दलको सभापति म छु। अरू को(को भन्ने दल दर्तापछि मात्रै बाहिर ल्याउँछौं।’

उनले समावेशी हुने गरी दल दर्ताका लागि निवेदन दिइएको बताएका थिए। साथै उनले एक वर्षपछि पार्टीले महाधिवेशन गर्ने बताएका छन्।

उनले संवैधानिक समाजवादको सिद्धान्तलाई पार्टीले अंगाल्ने पनि बताएका छन्।

रविले नयाँ पार्टी खोल्ने घोषणा गरेपछि उनका दाइ हरिशरण लामिछानेले भने आफू त्यो पार्टीमा आजीवन नरहने बताएका छन्। हरिशरणले काठमाडौं(३ प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

उनले रविको पार्टीले लिएको एउटा नीतिलाई लिएर भने विशेष चासो व्यक्त गरेका छन्।

‘नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई। पार्टीको नीतिअनुसार परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो,’ हरिशरणले भनेका छन्। उनले रविको पार्टीको उक्त नीतिमा व्यंग्यात्मक सुझाव पनि दिएका छन्।

‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाई नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला। पछि आपसी मायाप्रेममा परेर बिहेबारी भई कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है१’ उनले भनेका छन्।

उनले रविले खोलेको पार्टीमा संलग्न नहुने पनि बताएका छन्।

‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रूपले संलग्न हुने त कुरै भएन। राजनीतिक रूपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन्। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ।’

हरिशरण स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन्। उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार मात्रै उनले प्रतिनिधि सभामा उम्मेदवार बन्न चाहने स्वतन्त्रहरूको अलाइन्स बनाएको बताएका थिए। भाइ रविको राजनीतिलाई उनले फिल्मी शैली भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर